बिशेष

अहिलेसम्मकै भारी वर्षाको सम्भावना, काटिसकेको धान घर भित्र्याउन अनुरोध

नेपालीको घरघरमा दशैंले प्रवेश गर्नै लाग्दा यो मनसुनमा अहिलेसम्मकै सबैभन्दाा भीषण पानीपर्ने सम्भावना रहेकको भन्दै विज्ञहरुले उच्च शतर्कता अपनाउन सुझाव दिएका छन् ।

विहीबारदेखि आइतबारसम्म यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना रहेकाले उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

वरिष्ठ मौसमविद् एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।

बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ ।

‘बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल आइरहेको छ भने अर्कोतर्फ यस वर्षको मनसुन अवधिमै तापक्रम अधिक छ, जसलाई सामान्य मान्न नसकिने मौसमविद पोखरेलले बताउनुभयो ।

उता जल तथा मौसम विज्ञान विभागले असोज ७ गते विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै २७ जिल्ला उच्च जोखिमको सूचीमा राखेको थियो ।

महाशाखाका मौसमविद गोविन्द झाले जलवाष्पयुक्त वायुको बहाव हेर्दा अरब सागर र बंगालको खाडी दुवैतिरको हावा नेपालतिर सोझिएको र यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताउनुभयो ।

‘महाशाखाले यो वर्षाबाट अत्यधिक प्रभावित हुनसक्ने भनेर २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । यसै गरी ४२ जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

महाशाखाले कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीलाई रातो रङ्गले संकेत गरेर उच्च जोखिमको राखेको छ ।

यस्तै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेका छन् । यदि नकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

यो सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरु परिचालन गरिएको छ ।

नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.