जन सरोकार

अविरल वर्षापछिको पहिरो, विभिन्न राजमार्ग अबरुद्ध

निरन्तरको वर्षाद्ले देशका विभिन्न क्षेत्रमा सडक तथा राजमार्गहरु अबरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ ।

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।

यसै गरी राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उहाँले बताउनुभयो ।

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताउनुभयो । उहाँका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ ।

यसै गरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

लेदो आउने क्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.