बिचार

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर अमेरिकामा रमाइरहेका छन् ।

ज्येष्ठ नागरिक

“बुढाको पहिले नै स्वर्गबास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा छोडेर आफ्नो श्रीमती र छोरो लिएर अमेरिका गाको छ रे”, लौरोको साहारा लिइरहेकी सीतामायाले भन्नुभयो ।

सीतामाया वृद्धाश्रममा बस्न थालेको पनि पाँच वर्ष भयो । यसबीचमा आफूलाई वृद्धाश्रममा छोडेर गएपछि एकपटक पनि फर्केर आएनन् सीतामायाका छोरा । छोराले बुहारी र आफ्नो छोरो लिएर अमेरिका गएको कुरा सीतामायाले आफूलाई वृद्धाश्रममा भेट्न आएका गाउँलेको मुखबाट सुन्नुभएको थियो ।

कुन आमाको चाहना हुँदैन र ! जिन्दगीको उत्तराद्र्ध डाँडामाथिको जुनजस्तै भएको बेला सन्तान साथमै नहोस् । आफ्नो ज्यान आफँैलाई भारी भएर घुडाँले बुढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी, नातिनातिना आफन्तको साहरा होस् । तर उहाँले अहिले वृद्धाश्रममा मृत्यु पर्खेर बसेजस्तै भएको छ ।

सीतामायाको मात्रै होइन, अहिले वृद्धाश्रममा बस्दै आएकी ७८ वर्षीया चन्द्राकुमारीको पनि एउटा छोरा अष्ट्रेलियामा बस्छन् । सिन्धुली घर बताउने चन्द्राकुमारीको अर्को छोरा आफ्नो परिवारसहित भारतमा बस्छन् ।

चन्द्राकुमारीको श्रीमान्को मृत्युपछि आमालाई कसले पाल्ने भन्नेबारे दुई भाइबीचमा किचलो सुरु भयो । उहाँ भन्नुहुन्छ, “बुढा बितेपछि सम्पत्तिका लागि दुईभाइ झगडा गर्न थाले, भएको सबै सम्पत्ति आआफ्नो नाममा गरेर एउटा अष्ट्रेलिया गयो, अर्को पनि आफ्ना केटाकेटी लिएर भारततिर गयो, त्यसपछि म बूढीको साहरा कोही नभएपछि गाउँलेकै साथ लाएर वृद्धाश्रममा आएर बसेकी छु ।”

चन्द्राकुमारीलाई कहिलेकाहीँ विरक्त लाग्छ । सन्तान हुनुभन्दा बरु नभएको भए हुन्थियो जस्तो लाग्छ । कहिलेकाहीँ उहाँ आफ्ना विगत सम्झेर रुने गर्नुहुन्छ । वृद्धाश्रममा आफूजस्तै अरुहरुके पनि अवस्था देख्दा चित्त बुझाउने गर्नुहुन्छ ।

संसार यस्तै हो, आफ्नो भाग्य जस्तो छ, त्यस्तै भोग्ने हो भनेर चित्त बुझाउनुहुन्छ उहाँ । ‘म यता आएर बसेपछि बहिनीको छोराले मैँले पाल्छु भन्दै लिन आएको पनि थियो, म गइन, जब आफैँले नौ÷नौ महिना कोखमा राखेर, जन्माएर, हुर्काएर, पोलनपोषण गरेका आफ्ना छोराले त हेरेनन् भने बहिनीको छोराले म पाल्छु भनेर मात्रै भएन, मलाई पाल्न मसँग पैसा, सम्पति केही पनि छैन, यसलाई पनि किन दुःख दिने भनेर गइन’, चन्दाकुमारीले सुनाउनुभयो ।

सन्तान भएर पनि बुढेसकालमा एक्लो जिन्दगी जिउनु पर्दा साह्रै विरक्त लाग्छ चन्द्राकुमारी जस्ता थुपै्र आमाहरुलाई ।

मानव सेवा आश्रममा आश्रय लिइरहकी ९० वर्षिया लक्ष्मी भट्टको पनि सीतामाया र चन्दाकुमारीको जस्तै मनभरि पिडा छन् । बाबुको मृत्युपछि दुई भाइ छोराले भएको सबै सम्पत्ति कुमल्याए र आमालाई सडकमा वेवारिसे छाडे ।

बुढेसकालमा आफ्नै छोराहरुको आखाँको कसिङ्गर भएपछि उहाँ आश्रमको आड लागेको पनि वर्ष दिन भयो । अहिलेसम्म न छोरा न त कोही आफन्त नै खोजी गर्न आए । बुढेसकालमा पाल्ने एक मात्र छोराले सडकमै छाडेपछि टोखास्थित पवित्र समाज सेवा नेपालमा आश्रित हुनु परेको छ ६० वर्षीया सुन्तली आमालाई । उहाँको पस्डा पनि आश्रममा रहेका अन्य बृद्धाको भन्दा फरक छैन ।

पछिल्लो समयमा बुढा भएका आफना बाबुआमालाई वेवारिसे वा वृद्धाश्रममा लगेर छोड्ने र आफू विदेश पलायन हुने संस्कार बढ्दै गएको छ । धेरै आमाहरु सन्तान भएर पनि निभ्ने बेलाको जिन्दगीलाई वृद्धाश्रमको साहारामा जवरजस्त धकेलिरहेका छन् ।

सन्तान भएर पनि वृद्धाश्रमको आड लिनुपर्ने बाउ (बाबु)हरु पनि उत्तिकै छन् । पशुपति वृद्धाश्रमलगायत देशका विभिन्न स्थानमा आश्रय लिने अधिकांश वृद्धवृद्धाको सन्तान छन्, तर हेर्दैनन् ।

एकातिर सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नु पर्दाको पिडा छ भने अर्कातिर शारीरिक अस्वस्थता, मानसिक तथा मनोवैज्ञानिक पिडा, एक्लोपना उदासिनता र हिनताबोधको पिडा ।

वृद्धाश्रममा बस्ने अधिकाश वृद्धवृद्धामध्ये धेरैका छोराबुहारी अमेरिका, अष्टेलिया, बेलायतलगायतका मुलुकमा डाक्टर, इन्जिनियर छन् । कतिपय राजनीतिक दलका नेता तथा व्यापारी समेत छन् । तर पनि आफ्ना आमा बाबुलाई वृद्धाश्रममा लगेर धन्काएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले सम्पत्तिका कारण वृद्धवृद्धाहरु बुढेसकालमा आफ्ना सन्तानबाट एक्लिनु परेको बताउनुहुन्छ । नयाँ पुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा/छोरी) को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ ।

ज्येष्ठ नागरिक अधिकारकर्मी सीताराम ढकाल सम्पत्ति खाने छोराछोरीले नै आफ्ना बाबुआमालाई पाल्नुपर्ने बाध्यकारी ऐन/कानून बनाएर व्यावहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तर्क गर्नुहुन्छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

ज्येष्ठ नागरिक (दलित, महिला, लोपोन्मुख जाति, आदिवासी जनजाति, कर्णालीवासी र एकल महिलाले ६० वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने भनिए पनि नागरिकता नभएका कारण वृद्धाश्रमको आश्रय लिने ज्येष्ठ नागरिक त्यसबाट बञ्चित हुँदै आएका छन् ।

सर्वोच्च अदालतको २०६७ चैत २४ गतेको फैसलालले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडामा ५० प्रतिशत छुट दिन, सरकारी अस्पतालमा निःशुल्क र निजी अस्पतालमा ५० प्रतिशत छुटलाई कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । तर त्यसको अहिलेसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात कुल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करिव ८० करोड छन् ।

यो सङ्ख्या सन् २०५० सम्ममा २ अर्ब (दुई अर्ब) नाग्ने अनुमान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलयका अनुसार हाल करिब ८० वटा वृद्धाश्रम सञ्चालनमा छन् ।

पछिल्लो समयमा संयुक्त भन्दा पनि एकल परिवारको संस्कृति झन्झन् मौलाइरहेको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा उल्लेख अधिकारका आधारमा जतिसक्दो चाँडो ऐन÷कानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

नेपालको संविधान (धारा ४१) मा “ज्येष्ठ नागरिकको मौलिक हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनिएको छ । त्यसै गरी राज्यका नीतिहरु (धारा ५१, (ञ) “सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति” (१२) मा सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिङ्ग, क्षेत्र र समुदायभित्रका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने भनिएको छ ।

ज्येष्ठ नागरिकले विगत लामो समयदेखि स्वास्थ्य उपचार, यातायात भाडामा छूटको व्यवस्था र सिटको व्यवस्थालगायतका माग गर्दै आएका छन । बजार भाउ र महङ्गीलाई मध्यनजर राखेर ज्येष्ठ नागरिकले पाउँदै भएको वृद्धाभत्ता कम्तिमा पाँच हजार रुपैयाँ पुर्याउनुपर्ने ज्येष्ठ नागरिक महासङ्घको माग छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एक सय रुपैयाँबाट सुरु गर्नुभएको वृद्धाभत्ता स्वास्थ्य उपचार खर्चसहित अहिले दुई हजार रुपैयाँ पुगेको छ । ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आए पनि ज्येष्ठ नागरिकहरुले ६० वर्षदेखि नै दिनुपर्ने माग समेत गरेका छन ।

पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा कुनै वहानामा उजरी गर्न नपाइने विषयलाई कानूनमा कडाइका साथ उल्लेख गर्नुपर्ने देखिन्छ । कानुनी आधारमा मात्र नभई छोराछोरीलाई आफ्ना बाबु आमाप्रति उत्तरदायी बनाउन सकिएमा यो समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.