कर्पोरेट/पर्यटन

धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्य (भिडियोसहित)

मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफल संगै जोडिएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदलयात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ ।

छोटो दुरीको पैदलयात्रामा हिमालको फेदमा आउन सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरी हिमालको लस्करले घेरिएको बुकी पाटनबाट हिमालको टुप्पोदेखि नीरन्तर खसीरहने आइसफलको दृष्य लोभलाग्दो देखिन्छ ।

धौलागिरी आइसफल पदमार्ग र आइसफल क्षेत्रमा प्रत्येक्ष रुपमा हिमाली र जंगली पशुपंक्षिलाई समेत अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको छ ।

समुद्री सतहदेखि ४ हजार १५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरी र अन्नपूर्णलगायतका हिमशृङ्खलाका १० ओटा बढी हिमचुचुराहरुको समेत नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ ।

थासाङको ह्याङडिङ डाँडाको बुकी पाटनबाट धौलागिरी र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ ।


थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरी आइसफल क्षेत्रमा जाने पर्यटकहरुले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् ।

पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटकहरु टाङछारा क्षेत्रमा रहेका होटलहरुमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनःफर्कने समेत गर्छन् ।

बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरी आइसफल मुस्ताङमा आउने पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.