राजनीति

नेपाली कांग्रेसद्वारा ५० लाख सहयोग, चियापान कार्यक्रम स्थगित

नेपाली कांग्रेसले बाढी पहिरो पीडितको राहतका लागि सङ्घीय सांसदको १५ दिनको पारिश्रमिक तथा पार्टीका तर्फबाट रु ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै विपदमा परेर घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसंग माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

यसै गरी कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने गरेको चियापान कार्यक्रम यसपटक प्राकृतिक विपद्का कारण स्थगित गर्ने निर्णय गरेको छ ।

सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले सहयोग गर्न जरुरी रहेको भन्दै कांग्रेसले सो निर्णय गरेको हो ।

यसै गरी आगामी मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिएको छ ।

उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय  बैठकले गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले बाढी र पहिरोमा परी सयभन्दा बढीको निधन भएको घटनाले सबै नेपालीलाई मर्माहत बनाएको उल्लेख गर्दैै घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसै गरी राष्ट्रिय विपत्तिको समयमा पार्टीको ‘एक सयदिने विशेष अभियान’को पूर्वनिर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगित गर्ने निर्णय बैठकले गरेको कार्यवाहक मुख्य सचिव डा पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय प्रतिनिधिलाई आफु खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न÷गराउन केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका तथा भातृ एवं शुभेच्छुक संस्थाको सबै तहका नेता, कार्यकर्तालाई उद्धार र राहतमा समर्पित हुन पनि बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.