जन सरोकारबिशेष

सहकारीका रकम ठगेर अकुत सम्पत्ति जोडेका देवकुमार

सहकारीको दुई अर्ब रुपैयाँ ठगी गरी फरार बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीमाथि अनुसन्धान सुरु भएको छ । नेपालीले आफू संलग्न रहेका विभिन्न सहकारीका अनेक शाखाबाट रकम अपचलन गरी अकुत सम्पत्ति जोडेको पनि खुलासा भएको छ ।

२०८० वैशाखदेखि सम्पर्कविहीन उहाँले विभिन्न बैङ्कलाई समेत ३५ करोड ऋण तिर्न बाँकी छ । बागलुङमा नेपालीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते मुद्दा दर्ता भएको थियो ।

प्रहरी अनुसन्धान सुरु भएपछि उहाँ सम्पर्कविहीन बन्नुभयो । त्यसपछि उहाँ विरुद्ध गत माघ दोस्रो साता रेड कर्नर नोटिससमेत जारी भएको थियो ।

कहिले प्रेस विज्ञप्ति त कहिले फेसबुक लाइभमार्फत उहाँले आफ्नो निजी सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्न चाहेको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै आउनुभएको छ ।

सोही मुद्दामा खोजी भैरहेका नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ गरी शनिवार काठमाडौँ ल्याएर आइतबार साँझ पोखरा हुँदै राति बागलुङ लगिएको हो ।

सोही अभियोगमा देवकुमारसँगै पक्राउ पर्नुभएका ओमप्रसाद दर्जीलाई पनि बागलुङ नै लगिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पहिला मुद्दा बागलुङमा दर्ता भएकाले बागलुङ लगिएको बताउनुभयो ।

नेपालीले सहकारी तथा बैंकको रकम अपचलन गरी अकुत भौतिक सम्पत्ति जोडेको पाइएको छ । उहाँले अठार ठाउँमा घर, ४५ कित्ता जग्गा खरीद गरेको देखिएको छ ।

नेपालीको गाउँमा आठ तले होटेल, होटेलको छतमै हेलिप्याड । दरबार जस्तो होटेल दरबारका मालिक देवकुमारका बागलुङ, पोखरा र काठमाडौँका ठाउँ ठाउँमा घर र जग्गा छन् । सहकारी ठगी अभियोगमा मुद्दा चलेपछि उहाँ आफैँले आफ्नो घर, जग्गाको विवरणसमेत सार्वजनिक गर्नुभएको छ ।

इमेजका बचतकर्ताहरू सहकारीको पैसा देवकुमारले आफ्नो निजी व्यवसाय र घरजग्गामा लगानी गरेको बताउँछन् । संसदीय छानबिन समितिको प्रतिवेदन, प्रहरी प्रतिवेदन र सहकारी रजिस्ट्रार कार्यालयले गरेको अध्ययनमा पनि त्यही देखिएको छ ।

इमेज बचत तथा ऋण सहकारी कास्कीमा ६४ करोड ८८ लाख ६० हजार चार सय ७९ रुपैयाँ अनियमितता भएको छ । १५ जना प्रतिवादी बनाई कास्की प्रहरीले मुद्दा दायर गरेकोमा यसअघि छ जना पक्राउ परिसकेका छन् । तीमध्ये चार जना धरौटीमा रिहा हुँदा दुई जना पुर्पक्षका लागि थुनामा छन् ।

सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले देवकुमार पोखराको सूर्यदर्शन सहकारीको पूर्व उपाध्यक्ष रहेको खुलासा गरेको छ ।

जिबी राईसहितको योजनामा खुलेको यो सहकारीको नेतृत्व गर्न नपाएपछि देवकुमारले आफ्नो टिमसहित बाहिरिएर पोखरा र बागलुङमा एउटै नाममा दुई सहकारी स्थापना गर्नुभएको थियो ।

पोखरामा इमेज बचत तथा सहकारी २०६८ मा स्थापना भएको थियो भने बागलुङमा त्यही नाममा २०५९ मा अर्को सहकारी खुलेको थियो ।

पोखराको इमेजको पुँजी ६५ करोड देखिएकोमा १५ करोड मात्र लगानी गरेको र ५० करोडभन्दा बढी रकम सिस्टममै नदेखाई चलाउने गरेको महानगरको सहकारी महाशाखाको छानबिन प्रतिवेदनले औँल्याएको छ ।

दुवैतिर आफैँ अध्यक्ष भएर काम गर्दा सञ्चालक समितिमा डमी पात्र राखेर काम गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको इमेज सहकारी बागलुङले गलकोट र बुर्तिवाङमा सेवा केन्द्र चलाएको थियो ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार, बागलुङका स्थानीयलाई पर्दा आर्थिक सहयोगदेखि हेलिकोप्टरबाट समेत उद्धार गर्न पनि उहाँ पछि पर्नुहुन्नथ्यो । देवकुमारको त्यही स्वभावले इमेज सहकारी बागलुङमा धेरै बागलुङे सदस्य बने भने धेरैले रकम बचत पनि गरे ।

पोखरामा खुलेको इमेजमा पनि बागलुङबाट पोखरामा आएर बसोबास गर्नेहरूले सेयर हालेर बचतसमेत जम्मा गरे । दुवैतिरका सहकारीमा तिब्बती शरणार्थीहरूले समेत रकम जम्मा गर्ने गरेका थिए ।

तिब्बती शरणार्थी छेलो नेपालीसँग विवाह गर्नुभएका देवकुमारलाई उनीहरूले सजिलै विश्वास गरेको देखिन्छ । किराना पसल सुरु गर्नुभएका देवकुमार २०४६ सालतिर नेकपा (मसाल)का गतिविधिमा संलग्न हुनुभएको थियो । पछि नेकपा (माओवादी)मा आबद्ध उहाँले राजनीतिक आबद्धताको पनि निकै लाभ लिनुभएको देखिन्छ ।

पहिलो स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिका प्रमुखका प्रमुख दाबेदार उहाँलाई पार्टीले अन्तिममा टिकट दिएन । ०७४ मा एमालेबाट प्रमुख निर्वाचित उहाँले फेरि २०७९ को चुनाव पनि जित्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.