जन सरोकार

सडकको अवस्था सहज छैन भने घर जान हतार नगरौँ

असोज ११ र १२ गतेको अविरल वर्षापछि देशका मुख्य राजमार्गहरु क्षतविक्षत भएका छन् । दशैंको याममा राजधानी लगायत देशका विभिन्न शहरबाट गाउँघर फर्कनेहरु अन्योलमा छन् ।

जुन रुपमा राजमार्गहरुमाा क्षति पुगेको छ, त्यसमा अहिले नै यातायात सहज बनाउन निकै कठिन रहेको र यस्तो बेला यथार्थ सूचना नागरिकलाई दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।”

अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उहाँले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिनुभयो ।

“दशैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन”, उहाँले भन्नुभयो, “त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।”

उहाँका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउनसक्ने उहाँको भनाइ छ ।

“यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दशैं त फेरि पनि मनाउन पाइहालिन्छ”, गजुरेलले भन्नुभयो, “यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.