कृषि

सुनसरीका किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो ।

सुनसरीका किसान

उहाँले भन्नुभयो, “दशैं अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दशैं मनाउने सोच थियो । ”

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दशैं दशा भएर आयो । ”

बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ । ”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.