राजनीति

दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई दिइने दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि रकम हस्तान्तरणा समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले रु ५१ लाख हस्तान्तरण गरेको हो ।

अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराउनुुभयो ।

उहाँले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गर्नुभएको थियो ।

प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधैंको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताउनुभयो ।

उहाँले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घलाई राजनीतिक आधारमा नभइ सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुझाव दिनुभयो ।

भेटमा अध्यक्ष डा केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरुले उठाउँदै आएके समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई आगामी २७ र २८ अक्टोबरमा आयोजना गर्न लागिएको एनआरएन डे विशेष कार्यक्रम तथा ग्लोबल कन्क्लेभको लागि निमन्त्रणा पनि दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.