मारवाडी र प्रहरीको घम्साघम्सीबीच गौशाला धर्मशालामा काठमाडौं महानगरको बोर्ड
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला संचालनको जिम्मा काठमाडौं महानगरपालिकाले पाएसंगै त्यहाँ मारवाडी सेवा समितिको बोर्ड हटाएर काठमाडौं महानगरको बोर्ड राखिएको छ ।

बुधबार कोष र महानगरबीच धर्मशाला संचालन सम्बन्धी सात बुँदे सम्झौता भएपछि मारवाडी सेवा समितिले यसको बिरोध गर्दै आफू सो जग्गाको मोही रहेको दावी गरेको छ ।
काठमाडौं महानगरलाई धर्मशाला हस्तान्तरण गरेपछि समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।
‘काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।
धर्मशाला बाहिर मारवाडीहरुले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो।
महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरे पनि नहटाएपछि महानगर प्रहरीले खाली गराएको हो। नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीसँग केहीबेर प्रतिवाद समेत भएको थियो।
प्रतिक्रिया राख्नुहोस्