अर्थकृषि

भारतीय सीमासम्म पुग्यो कर्णालीको स्याउ

भारतीय र चिनीयाँ स्याउले बजार ढाक्ने गरेको सीमावर्ती बजारहरुमा यसपटक भारतीय सीमा जोडिएका कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैमा राम्रो बजार पाएको छ ।

यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।

उहाँले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताउनुभयो ।

“हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भन्नुभयो ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिनुभयो । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताउनुभयो ।

दशैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताउनुभयो । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.