खेलफूटबल

साफ महिला फुटबल : उद्घाटन खेलमा भारतद्वारा पाकिस्तान ५-२ ले पराजित

राजधानीमा बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

साफ महिला फुटबल

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४–० को अवस्थामा पुर्याइन् ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् । भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।

खेलको पहिलो हाफसम्म ४–१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन् । तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५–२ को अग्रता दिलाइन् ।

जितसँगै भारतले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.