जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्दिया, बारा र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बर्दिया, मधुवन नगरपालिका-४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-५ बस्ने ५० वर्षीय तुल बहादुर गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल सानोश्री बर्दिया हुँदै बर्दिया अस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा बा.प्र.०१-००६ ख ५८६८ नम्बरको इभी गाडीको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१ पथलैया चोक बस्ने ४९ वर्षीय डम्बर बहादुर लामिछानेको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-२० बसडिलवास्थित सडकमा ना.१ क ५७६२ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका-१७ घर भएका सुगुन प्रसाद यादवको छोरा ३ वर्षीय अमन यादवको आइतबार बेलुकी मृत्यु भएको छ ।

बसको चक्काले किच्दाँ गम्भीर घाइते भएका उनको बयोधा अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दाङ, घोराही उपमहागनरपालिका-१२ हापुर औलडाँडास्थित सडकमा बा.प्र.-०३-०१ च २९०९ नम्बरको पिकअपमा भे.३ प ९४९५ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप लम्सालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.