कर्णालीप्रदेश

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोच बदल्न जरुरी : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेल

मंगलबार मुसिकोटमा आयोजित नेकपा (एमाले) कार्यकर्ता भेलामा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदलौँ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन ।”

योजना छनोटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानुन बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कँडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफू नेतृत्वको सरकारले रोक्ने बताउनुभयो ।

शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गइसकेको उल्लेख गर्दै उहाँले बजेट ल्याइदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिनुभयो ।

“बजेटको कुरा गरेर जनतालाई क्षणिकरुपमा अल्मल्याउन सकिएला”, उहाँले भन्नुभयो, “तर राम्रो नीति र कानुन बनाउने हो भने त्यसको लाभ दीर्घकालीन रुपमा सबै नागरिक पाउँछन् ।”

सरकारले विनियोजन गरेको बजेटबाट व्यक्ति विशेषको योजना बनाउने परिपाटीप्रति खबरदारी गर्न पनि मुख्यमन्त्री कँडेलले कार्यकर्तालाई आह्वान गर्नुभयो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री कँडेलले राजनीतिलाई कुनै पेसा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.