राजनीति

१५ लाख दुग्ध किसानले भुक्तानी र ७५ हजार उखु किसानले अनुदान रकम पाए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताउनुभएको छ । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उहाँले उल्लेख गर्नुभयो ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गथ्र्यो ।”

उहाँले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

“पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ” ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्यौँ, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताउँदै दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उहाँहरुले पाएको बताउनुभयो ।

“लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।”

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पार्नुभयो ।

उहाँले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिनुभयो । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट रु ६ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.