राजनीति

विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको छ भन्नुभयो ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट पार्नुभयो ।

संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गर्नुभयो ।

राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भावप्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताउनुभयो ।

शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उहाँले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुद अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाले जलवायु परितर्वन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरेका भए पनि जलवायु सङ्कटबाट प्रभावित हुन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव अन्त्यका लागि विश्वव्यापी साझेदारी गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभयो ।

नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको दोहो¥याउँदै प्रधानमन्त्रीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षणको विश्वव्यापी प्रयासलाई अनवरतरुपमा समर्थन गरिरहने बताउनुभयो ।

प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

उहाँले विश्वव्यापी शान्ति प्रवद्र्धन, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनमा संयुक्त राष्ट्र सङ्घले नेतृत्वदायी भूमिका स्मरणीय रहेको छ भन्नुभयो ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको र हालसम्म राष्ट्र सङ्घको बडापत्रप्रति प्रतिबद्ध मुलुकका रुपमा रहेको स्पष्ट पार्दै प्रधान सेनापति सिग्देलले विभिन्न शान्ति मिसनमा शान्ति सैनिक पठाउने मुलुकका रुपमा नेपाल पहिलो रहेको जानकारी दिनुभयो ।

समारोहमा द्वन्द्वग्रस्त मुलुकका ११ वटा मिसनमा तैनाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित फौजले मार्च पास गरेको थियो । सो अवसरमा मारुनी, मघौटा, झ्याउरे र हुड्केली नाच तथा नेवारी समुदायको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाका खेलाडीले तेक्वान्दो खेल प्रस्तुत गरेको सो समारोहमा तीन वटै सुरक्षा सङ्गठनका तर्फबाट संयुक्त ब्याण्ड तथा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘यु एन डे–२०२४’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.