कर्पोरेट/पर्यटन

धार्मिकसंगै प्राकृतिक सौन्दर्यको आनन्द, दैनिक चार हजारले दर्शन गर्छन् मुक्तिनाथ धाम (भिडियोसहित )

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलको रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंको टिका सकिएलगत्तै मुक्तिनाथमा धार्मिक पर्यटकहरुको आगमन बढेको हो ।

धार्मिकसंगै प्राकृतिक सौन्दर्यको आनन्द, दैनिक चार हजारले दर्शन गर्छन् मुक्तिनाथ धाम (भिडियोसहित )

दशदिनयता दैनिक ४ देखि ५ हजार पर्यटकहरु मुक्तिनाथ आएका छन् । मौसम सफा भएसंगै मुक्तिनाथ मन्दिरको दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, पछिल्ला दिनहरुमा दैनिक ४ हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरेका छन् । दशैं तिहारको विदाको समयलाई उपयोग गर्दै दैनिक रुपमा हजारौँ पर्यटकहरु म्याग्दी हुँदै मुस्ताङ भित्रिएका छन् ।

मुस्ताङ भित्रिएका पर्यटकहरुमध्ये धेरै जसोले मुक्तिनाथलाई प्रमुख रोजाइमा राख्ने गरेका छन् । मुक्तिनाथ मन्दिर नजिकको रानिपौवा बजारमा रहेका ३५ वटा सुविधा सम्पन्न होटलहरु अहिले दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने गरेका छन् ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार, अहिले आउने पर्यटकहरुमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका छन् । विदेशी पर्यटकहरुमध्ये धेरैजसो छिमेकी मुलुक भारतबाट आउने छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकहरुले समेत मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

विदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न संघ संस्था र कार्यालय तथा युवाहरुको समूह उल्लेख्य मात्रामा सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुगेका छन् । दैनिक रुपमा सयौं बस, जिप र मोटरसाइकलमा चढेर भक्तजन र पर्यटकहरु मुक्तिनाथ पुग्ने गरेका छन् । सामान्य अवस्थामा मुक्तिनाथ मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भएपनि दशैं लगत्तै दिनभर भक्तजनहरुको भीड लाग्न थालेपछि विहानदेखि बेलुकीसम्म नै पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

भक्तजनहरुलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रवन्ध मिलाईएको छ । अशक्त र बृद्धबृद्धालाई लाइन नबसिकन मन्दिरको दर्शन गराउने गरिएको छ । मुक्तिनाथको महिमा र फैलदो ख्यातीले हरेक वर्ष यहाँ दर्शन गर्न आउनेहरु बढ्दै गएका छन् ।

मुक्तिनाथमा दर्शन गर्न आउने तिर्थालुको मनोकामना पूरा हुने र यहाँ दर्शन गर्दा सबै पापहरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारा र मन्दिरको अगाडी रहेका जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पुजा गर्ने चलन रहेको छ ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ भएका छन् ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.