राजनीति

३० हजार मानिस सडकमा उतार्दै माओवादी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयलाई लिएर भोलि कात्तिक १० गते शनिबार राजधानी काठमाडौँमा विरोध प्रदर्शनको घोषणा गरेको छ ।

विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने बताइएको छ ।

जनपरिचालनको उद्देश्य सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको पार्टी प्रवक्ता सापकोटाले जानकारी दिनुभएको छ ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

संविधान र लोकतन्त्रको रक्षा एवं समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका थप विस्तार गर्ने उद्देश्यका साथ पार्टीले केही कार्यक्रम घोषणा गरेको प्रवक्ता सापकोटाको भनाइ छ ।

खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ ।

सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सहभागीहरुले सरकारविरुद्ध नारा लगाउने छन् ।

सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.