१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुँदै
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपियो)बाटै लगानी गर्न सक्ने गरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताउनु भयो ।
अध्यक्ष डा केसीले नेपाल धितोपत्रबोर्डले निर्देशिका जारी गरेसंगै लगानी भित्राउन बाटो खुल्ने बताउनुभयो । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भन्नुभयो, ‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ ।’
समारोहमा एनआरएनए डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा अनलराज भट्टराईले गैरआवासीय फण्ड स्थापना सन् २००५ मा स–साना लगानी भित्राउने योजना शुरु भएर २०१९ मा मात्रै सरकारसंग सम्झौता भएको र २०२१ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको जानकारी दिनुभयो ।
उहाँले धितोपत्र बोर्डबाट निर्देशिका जारी भएसंगै प्राथमिक सेयर निष्कासन शुरु गर्ने बताउनुभयो । ‘धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि ५–६ महिनामा गैरआवासीय नेपालीका लागि आईपिओ जारी गर्न सक्छौं । कोषको फाण्ड पूर्वधार क्षेत्रलाई प्राथमिकता दिई लगानी गर्ने उद्देश्य छ ।’
प्रतिक्रिया राख्नुहोस्