भाटभटेनीका मालिकले दिएको जग्गामा घर नबनाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी भवन बनाउन भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरूङले दिएको जग्गामा कुनै संरचना नबनाउन अन्तरिम आदेश दिएको छ ।
काठमाडौंको कीर्तिपुरमा रहेको झण्डै पौने अर्ब रुपैयाँ मूल्यको जग्गा मिनबहादुरले नेकपा एमालेलाई दानभन्दै दिए पनि यसभित्र व्यापारिक स्वार्थ रहेको चर्चा अहिले पनि चलिरहेको छ ।
यस्तोमा ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।
राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरूङकै बचाउ गरिरहेको छ ।
गुरूङबाट जग्गा लिएको उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास समेत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्