बिशेषस्वास्थ्य

निजी कम्पनीको उत्पादन बेच्न सरकारी धराशायी पारेर देश बन्दैन (भिडियो)

सिंहदरबार वैद्यखाना सरकारले सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिन बालेनको माग

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले आयुर्वेदिक उपचार पद्धति नेपालीको संस्कार र संस्कृति रहेको भए पनि अहिले यसको अवस्था नाजुक भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

मेयर शाह

आज बुधबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताउनुभयो ।

प्रमुख साहले भन्नुभयो, “अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ । ९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उहाँले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो”  ।

नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ । २०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।”

उहाँले भन्नुभयो, ‘‘सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ । देश जोगाउन सुरुमा यस्तो ठाउँ जोगाउनुपर्छ । सचिवज्यूको एउटा कुरामा म सहमत भएँ, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ ।’’

उहाँले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन पनि माग गर्नुभयो ।

प्रमुख साहले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधी उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने र सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.