सिंहदरबार वैद्यखाना नेपालको मुटु हो (भिडियो)
प्रतिनिधिधसभा अर्थ समितिका सभापति सन्तोष चालिसेले ३५० वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखानाको मुलुकको मुटु रहेको बताउनुभएको छ ।
बुधबार सिंहदरबार वैद्यखाना विकास समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सभापति चालिसेले सो कुरा बताउनुभएको हो ।
उहाँले विगतमा १५० किसिमका औषधि उत्पादन गर्ने वैद्यखाना अहिले धराशायी बनेको र यसको विकासका लागि समितिका तर्फबाट आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व गृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरुले विदेशमा समेत निर्यात गर्नेगरी उत्पादन वृद्धि गर्दै जाने बताउनुभयो । उहाँले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राख्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो ।
नेपाल आयुर्वेद चिकित्सा सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रा डा ठाकुरप्रसाद दुवाडीले वर्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रुपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समितिअन्तरगत सञ्चालित हुँदै आएको छ ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्