हङकङ जारी सुपर सिक्स (६ ओभर) खेलमा नेपालले विश्व क्रिकेटको महारथी बेलायतलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् ।
त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेलायतले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे ।
स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए । नेपालले अर्को खेल अस्ट्रेलियासंग खेल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्