अमेरिका निर्वाचन : तीस राज्यको नतिजा आउँदा ट्रम्प २० मा विजयी
मंगलबार सम्पन्न अमेरिकाको राष्ट्रपपति निर्वाचनको हालसम्म सार्वजनिक ५० मध्ये ३० राज्यको नतिजामा २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गर्नुभएको छ ।
अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएअनुसारकै आएको छ । डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा ह्यारिसले र रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा ट्रम्प विजयी हुनुभएको छ ।
यद्यपि निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । ती स्टेटमा दुई उम्मेदवारबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छन् ।
अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।
यदि चुनावी परिणाम दुवैको पक्षमा नआएको खण्डमा नतिजाको लागि सर्वोच्च अदालत पुग्नुपर्ने हुनसक्छ । यदि दुई उम्मेदवारको बीचमा मतान्तर निकै कम भएमा सर्वोच्च अदालतले अन्तिम फैसला दिनुपर्ने हुन्छ ।
सन् २००० मा भएको चुनावी विवाद सर्वोच्चसम्म पुगेको थियो । त्यो चुनावमा फ्लोरिडामा कुनै पनि एक पार्टीले स्पष्ट बहुमत ल्याउन सकेको थिएन । सर्वोच्चमा पुगेको उक्त विवादको फैसला रिपब्लिकन पार्टीको पक्षमा आएको थियो ।
राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनुहुनेछ ।
ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनुहुनेछ । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।
प्रतिक्रिया राख्नुहोस्