निजी र सरकारी शिक्षा भन्दा समग्र शिक्षातर्फ बहस केन्द्रित : मन्त्री भट्टराई
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अहिले सरकारी र निजी शिक्षाभन्दा पनि समग्रमा कस्तो शिक्षा भन्ने विषयमा बहस केन्द्रित भएको बताउनुभएको छ ।
बुधबार गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको अन्तरक्रियामा मन्त्री भट्टराईले सो कुरा बताउनुभएको ाहो ।
त्यस क्रममा मन्त्री भट्टराईले सेवाग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन पनि सम्बन्तिध कार्यालयका प्रमुखहरुलाई आग्रह गर्नुभयो।
मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रवाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न पनि आग्रह गर्नुभयो ।
राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागिपर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।
मन्त्री भट्टराईले प्रदेश र स्थानीय तह सहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजी र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको बताउनुभयो ।
उहाँले शिक्षामाथि उठेका प्रश्न र बहसलाई अब जारी हुने शिक्षा ऎन मार्फत यसको सम्बोधन हुने जानकारी दिंदै शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिमप्राप्त शिक्षकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुको क्षमता विकासका काममा लाग्न कर्मचारीहरूलार्इ निर्देशन पनि दिनुभयो ।
सो अवसरमा प्राविधिक शिक्षालयहरू थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने व्यवस्था व्यवहारिक र वैज्ञानिक हुने पनि मन्त्री भट्टराईले जिकिर गर्नुभयो ।
अन्तक्रिया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्ड लगायतका कार्यालयहरूको अवलोकन सहित सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्