साविक विजेता सूदुरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सूदुरपश्चिमले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
यसअघि २०२२ मा त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सूदुरले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफी तथा उपविजेता लुम्बिनीले १ लाख तथा ट्रफी हात पार्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रनको योगफल बनायो । सूदुरका लागि अभिषेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७, नरेन राउदले १५, राजेश एयेरले १४ र दिपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए भने रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० , विजय कोहरले १९, समिर अलीले १८ र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर लुम्बिनीका सन्तोष यादव घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफी हात पारे । प्लेयर अफ द म्याच सूदुरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
प्रतिक्रिया राख्नुहोस्