युएईमा जारी महिला यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
युएईको द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले ३४ रन जोड्दा साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाइन् ।कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक-एक विकेट लिए ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेत १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रनमा अलआउट भयो । कुवेतको लागि जिफा जिलानीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सीमाना केसी र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतो, करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक-एक विकेट लिए ।
यो जित संगै नेपाल लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि ६७ रनको जित हात पारेको थियो । अब नेपालले शनिबार घरेलु टोली युएईको सामना गर्नेछ । जारी छनोटमा कुवेत, नेपाल र थाइल्यान्ड र युएई सहभागि रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्