नारायणगढ–मुग्लिन सडकमा बस र हाइस ठोक्किदा चारजनाको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा विपरीत दिशाबाट आइहेका बस र हाइस ठोक्किदा चारजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
समाचार अनुसार शुक्रबार विहान अन्दाजी ३ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् ।
मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०र४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।
बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् ।
घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्