अवैध सामान लुटपाट गर्न सशस्त्र प्रहरीमाथि आक्रमण
बिहिबार साँझ राजश्व छलेर ल्याएको अवैध चिनी बरामद गरेर फर्कने क्रममा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ ।
समाचार अनुसारा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट १ सय १२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको प्रहरीको दाबी छ ।
भारतबाट अवैध रुपमा नेपाल भित्रियाइ लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवल र सशस्त्र प्रहरीको टोली मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी सो चिनी नियन्त्रणमा लिएको थियो ।
राजश्वका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली अवैध चिनी बरामद गरेर फर्किने सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट सशस्त्र प्रहरी बलको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ ।
आक्रमण भएपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको थियो । सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको थियो ।
ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डे लगायतको हातमा चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार रुपन्देहीको सिमावर्ती क्षेत्रबाट ठूलो मात्रामा तस्करी हुने गरेको छ । सशस्त्र प्रहरीले मात्रै ९ महिनाको अवधिमा १० करोड बढीको अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ भने नेपाल प्रहरीले पनि करिब ५ करोडको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्