राजनीति

सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीले जोगाउन आवश्यक छैन

नेपाली कांग्रेसको यवा संगठन नेपाल तरुण दलका पूर्वकेन्द्रीय महासचिव भूपेन्द्रजङ्ग शाहीले सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीले जोगाउन आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रबार झापाको काँकडभिट्टाबाट कांग्रेसको ‘युवा सङ्कल्प यात्रा’को शुभारम्भ गर्दै यात्रा संयोजक समेत रहनुभएका शाहीले सो कुरा बताउनुभएको हो ।

उहाँले सहकारी ठगी घटनाका आरोपी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितको बचत फिर्ताको वातावरण बनाउन माग पनि गर्नुभएको छ ।

“हामी सरकारलाई जोडदार आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो, “सहकारीको बचत दुरुपयोग गर्ने व्यक्ति जुनसुकै पार्टीको भए पनि कानुनी कारबाही गरिनुपर्छ ।” सहकारी ठगीका कारण पीडित भएकाको बचत रकम फिर्ताको वातावरण सरकारले नै बनाउनुपर्ने उहाँको जोड थियो ।

नेपाली कांग्रेसका ५० जना युवा नेता सहभागी रहेको यात्राको नेतृत्व तरुण नेता शाहीले गर्नुभएको छ । आगामी मङ्सिर ४ गते महेन्द्रनगरमा यात्रा समापन हुने बताइएको छ ।

भ्रष्टाचार उन्मूलन, सहकारी ठगीमाथि कारबाही, सहकारी पीडितको बचत फिर्तालगायत १० बुँदे मागलाई यात्राको मूल ध्येय मानिएको छ ।

यात्रामा सांस्कृतिक टोली समेत रहेको छ । यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महेन्द्रनगर पुग्ने यात्रा संयोजक शाहीले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेल, प्रेमिका राना मगर, धर्मेन्द्र नेम्वाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.