कप्तान पूजा महतोको सानदार शतकसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेत सामू जितको लागि २१४ रनको लक्ष्य दिएको छ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो ।
नेपालको लागि कप्तान पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतमा अविजित रहँदै १३० रनको शतकीय पारी खेलिन् भने सोनी पाख्रिनले ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । यी दुईले तेस्रो विकेटका लागि ८४ बलमा अविजित रहँदै १५७ रनको शतकीय साझेदारी गरे ।
त्यस्तै सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । कुवेतको लागि जिफा जिलानी र रेलिन मारिया डी सोउजाले समान १-१ विकेट लिए ।
नेपाल चार खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो भने कुवेतलाई १०८ रनको विशाल अन्तरले पराजित गरेको थियो । यता घरेलु टोली युएईले भने नेपाललाई १३ रनले हराएको थियो ।
छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्