समर्थन गर्ने विपक्षी दलका नेताको परस्त्री सम्बन्धले प्रधानमन्त्री इसिबामाथि नैतिक दवाव
जापानमा प्रधानमन्त्री शिगेरु इसिबाले मंगलबार संसदमा विश्वासको मत पाएर प्रधानमन्त्रीको रूपमा पुनः निर्वाचित भएलगत्तै उहाँमथि नैतिक दवाव बढेको छ ।
जापानको सत्ता राजनीतिमा तीन दशकपछि ‘रनअफ भोट’मार्फत शिगेरु इसिबा प्रधानमन्त्री चुनिनुभएको हो । यसअघि प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिनुभएको थियो ।
गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपी र साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । ४ सय ६५ सदस्यीय संसद्मा एलडीपीकोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो ।
तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विषेश अधिवेशनबाट उहाँ प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।
रनअफ मतदानमा इसिबाले आफ्नो प्रतिद्वन्द्वी तथा मुख्य विपक्षी दल कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) का नेता योशिहिको नोदालाई पराजित गर्नुभयो ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै उहाँलाई नैतिक दवाव परेको छ । शिगेरु इसिबा नेतृत्वको सरकारका लागि ‘किंगमेकर’को रुपमा हेरिएका मंगलबार सानो तर प्रभावशाली विपक्षी दल डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी)का प्रमुख युइचिरो तामाकीले महिलासँग सम्बन्ध रहेको स्वीकार गरेपछि नैतिक संकट उत्पन्न भएको हो ।
तामाकीले आफू र एक मोडेलबीचको बाहिरको सम्बन्धको बारेमा आएको खबरलाई ‘मूलतः सत्य’ रहेको स्वीकार गर्दै आफ्नो परिवार र जनतासँग माफी माग्नुभएको छ ।
फ्ल्यास साप्ताहिक पत्रिकाको अनलाइन संस्करणले ५५ वर्षीय तामाकी र ३९ वर्षीया मोडेल तथा कलाकारबीचको सम्बन्धको खबर सार्वजनिक गरेपछि तामाकीले तत्कालै पत्रकार सम्मेलन गरेर माफी माग्नुभएको हो ।
डीपीपीले राजनीतिक गतिरोधबाट बच्न नीतिगत सहमतिमा पुग्ने लक्ष्य राख्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र यसको गठबन्धन साझेदार कोमेटो पार्टीसँग वार्ता सुरु गरेको छ ।
सत्तारूढ गठबन्धनले डीपीपीसँग सहकार्यको संकेत गरेलगत्तै तामाकी विवादमा मुछिएपछि प्रधानमन्त्री शिगेरु इसिबामाथि नैतिक दबाब बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्