कमला नदीमा अनौठो भूतमेला भर्नेको घुइँचो भिडियो)
धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा शुक्रबार बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी, भूतप्रेतबाट पीडितसहितका श्रद्धालुहरुको घुइँचो लागेको छ ।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुहरुको घुइँचो लागेको हो ।
सूर्योदयसँगै शुक्रबार बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग सतबैद(शपथ) लिइरहेका छन् । कमला नदी किनारमा भगता(देउता) खेल्नेको घुइँचो लागेको छ ।
आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्र्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन छ ।
कतिपय नवधामीझाँक्री कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामाबिहिवार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुहरुले बताएका छन् ।
कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको संख्या अत्यधिक रहने गरेको छ ।
सिरहाको बन्दिपुरमा पर्ने उत्तरबाहिनी, चिकना, निर्दन्ना, चतरी, सारश्वर, बरेरबा, फूलबरिया, बसबिट्टा, इनर्वा र भारत बिहारस्थित जयनगरको कमला नदीको दुबैतिर स्नान गर्ने तथा नवधाधीझाँक्रीहरुहरुको जतातै घुइँचो देख्न सकिन्छ ।
करिब २ दशकअघिसम्म इनर्वा घाटमा अत्याधिक भीड हुने गरेपनि अहिले भने सहजता हुने ठाउँहरुमा भीडभाड देखिने गरेको छ ।
सर्वसाधारणहरु स्नान गरी पुजापाठ गरी पवित्र नदीमा प्रथम स्नान गरेको धामीझाँक्रीसँगआशिष लिने चलन छ । प्रसादहरुका रुपमा कमला नदीको बालुवा, ढुंगा, गेरुवा, फूल वा जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् । यस्तै नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिएर घर फर्किनेछन् ।
त्यसै गरी सुर्यदेवको साक्षी राखेर महिलाहरुले सन्तान प्राप्तिका लागि पनि कमलेश्वरी मातासँग भाकल पनि गर्ने गर्छन्। उनीहरुले भाकलसँगै कमला स्नान गर्न आएका धामीझाँक्रीहरुबाट प्रसाद पनि लिने गर्छन् ।
सो भाकल पुरा भएपछि नदीमा बाख्राको पाठो, सुनको गुजा, माटोको कोठी, झाप र पान सुपारी लड्डु लगायतका सामग्रीहरु चढाउने गर्दछ ।
नवधामीझाँक्रीहरु सतबैद(शपथ) लिन नेपालको कमला नदी तथा भारतको गंगा सागर पनि जाने गर्छन् । त्यहाँ गएर भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् ।
मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।
कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । यस्तै आजका दिन कमला नदीमा श्रद्धालुहरुले स्थानपछि दही, चिउरा, सक्खर, तरकारी र तिलका अचार पनि नदी तटमै खाने गर्छन् । यो मेलालाई भूत भेला भनिए पनि कतिपयले अहिले भगवान मेला भनेर पनि व्याख्या गरिरहेको छ ।
यता अन्धविश्वासका कारण धामीझाँक्री र बोक्सीको नाममा महिलामाथि हुने हिंसा बढ्दो छ । विभिन्न निकायहरुले यस्तो घटनालाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।
लाखौं करोडौं खर्चिरहेका छन् । तर, पनि कमला नदीमा लाग्ने भूत मेलाको दृश्य हेर्दा मेलाले आधुनिक विज्ञान र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको प्रयासलाई ठुलो चुनौती दिइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्