‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको ईच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले पर्यटकीय गन्तव्यको व्यवसाय प्रवर्द्धनका लागि यात्रुलाई विभिन्न सुविधाका प्याकेज बनाएर दिनुपर्ने बताउनुभयो ।
उहाँले हवाइ सेवामा पहिलो प्राथमिकता यात्रुको सुरक्षा हुने भएकाले गौतमबुद्ध विमानस्थलको अधिकतम सुरक्षाका लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका सबै पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने बताउनुभयो । उहाँले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनी प्रदेश मात्रै नभएर सिङ्गो देशलाई फाइदा पुग्ने बताउनुभयो ।
सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदुरपश्चिम र कर्णालीको लागि भैरहवा सबैभन्दा पायक पर्ने बताउनुभयो । नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले गौतम बुद्ध विमानस्थल भइरहेको उडानलाई नियमित गराउन पर्ने बताउनुभयो ।
नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले वर्तमान समयमा विमानस्थलको सञ्चालनले नयाँ आशा जगाएको बताउँदै यस अवसरलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा पत्रकारीताका माध्यमबाट योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्