राजनीति

पूर्वसभामुख ढुङ्गानाको निधन, प्रधानमन्त्रीद्वारा समवेदना प्रकट

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उहाँको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । ढुङ्गानाको भोलि सोमबार अन्त्येष्टि स्वकीय शर्माले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु” ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.