साहित्य

सम्मानले सर्जकलाई अरु बढी जिम्मेवार बनाउँछ : साहित्यकार चालिसे

वरिष्ठ साहित्यकार विजय चालिसेले सर्जकलाई सम्मानले अरु बढी जिम्मेवार र दायित्वबोधका साथै गहन साहित्य सिर्जनातर्फ थप सचेत पार्ने बताउनुभएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव समेत रहनुभएका चालिसेले गत शुक्रबार साहित्य सदन नेपालले आयोजना गरेको व्यथित साहित्य सम्मान ग्रहण पश्चात बताउनुभएको हो ।

चालिसेलाई साहित्य सदन नेपालले संस्थापक अध्यक्ष रहनुभएका कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान’बाट सम्मानित गरिएको हो ।

प्रा.डा. पद्मप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चालिसेलाई सम्मानका साथमा नगद पुरस्कार रु २० हजार समेत हस्तान्तरण गरिएको थियो ।

चालिसेले साहित्य सृजना, आमसञ्चार र साहित्यिक संस्थाहरूको स्थापना र उन्नयनमा समर्पित रहि यस क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।

चालिसेको नवीन कृतिका रुपमा वैदिक पृष्ठभूमिमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ भने उपन्यास, कथा, निबन्ध, बालकथा लगायत दर्जनाैँ कृति सार्वजनिक भैसकेका छन् ।

साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, संविधानसभा सदस्य रामेश्वर फुयाल, साहित्यकार परशुराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ तथा युगवादी साहित्यकार केदारमान व्यथितको १११औँ जन्मजयन्तीको अवसर पारेर सम्मान कार्यक्रमसहित साहित्य सदन नेपालको वार्षिक साधारणसभाको आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.