विज्ञान र समाजलाई जोडेर काम गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराईले नागरिकका मौलिक हक पूरा गर्न विज्ञान र समाजलाई जोडेर काम गर्नुपर्ने र शतप्रतिशत नतिजा हाँसिल हुनुपर्ने बताउनुभएको छ ।
आइतबार सम्पन्न शिक्षा मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भट्टराईले सो कुरा बताउँदै उहाँले विकास कामलाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्य सम्पन्न गर्न निर्देशन पनि दिनुभएको छ।
अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको सम्झौता कार्यान्वयन गर्न सो निर्देशन दिनुभएको हो । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक वर्ष २०८१र०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको थियो ।
बैठकमा मन्त्री भट्टराईले सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरी प्रभावकारी र उपलब्धिपूर्ण कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिदै कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिनुभयो ।
मन्त्री भट्टराईले नागरिकका मौलिक हक पूरा गर्ने गरी विज्ञान र समाजलाई जोडेर काम गर्नआग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन शुरूवात गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजना सहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफल गरी समस्या समाधान गर्न सबैलाई सचेत समेत गराउनुभएको छ ।
बैठकमा शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले सचिव र सहसचिवबीच भएको सम्झौतालाई समेत कार्यक्रम कार्यान्वयनको उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिनुभयो ।
प्रगति समीक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगति माथी छलफल भएको थियो।
समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समीक्षा भएको जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्