हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न मन्त्री शाहीको आग्रह
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ पग्लने र समुन्द्र सतह बढ्नेजस्ता जलवायुजन्य समस्याहरू निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
अरजरबैजानको बाकुमा जारी (कोप–२९) मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विषेश सल्लाकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटवार्तामा उहाँले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सबै सदस्य मुलुकहरू एकजुट भएर जलवायु सङ्कट समधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानको यस मार्गमा लाग्न प्रेरित गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
गत वर्षको गुटेरेसले गर्नुभएको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोगी भएको भन्दै उहाँले त्यसका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।
भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएको जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी दुई सय ५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्याएको बताउनुभयो ।
“हिमालय पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्रसम्म सीमित हुँदैन । त्यसका असरहरू त्यहाँबाट धेरै पर, विशेषगरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्याइरहेको छ ।”
नेपालजस्ता मुलुकका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्