विश्व समाचार

नर्वेकी युवराज्ञीका छोरा बलात्कारको आशङ्कामा पक्राउ

नर्वेकी युवराज्ञी मेट्टे–मेरिट राजपरिवारको सदस्य हुनुभन्दा पहिलेका पतिबाट जन्मेका २७ वर्षीय छोरा मारियस बोर्ग होइबीलाई बलात्कारको आशङ्कामा पक्राउ गरिएको नर्वेली प्रहरीले मङ्गलबार जनाएको छ ।

मेट्टे–मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस सोमबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

“प्रहरीले बलात्कार बारेमा भन्नसक्ने कुरा के हो भने यो संभोग बिनाको यौन कार्यसँग सम्बन्धित छ, पीडितले उक्त कार्यको प्रतिरोध गर्न असमर्थ भएको बताइएको छ”, उनीहरूले भने । पछिल्लो बयानमा, प्रहरीले संदिग्धको घरको खोजी गरेको र ‘जफत’ गरेको बताएको छ ।

बोर्ग होइबीलाई शाही दम्पतीले आफ्ना सौतेनी भाइबहिनी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा (२०), राजकुमार सेभेरे म्याग्नस (१८) सँग हुर्काएको थियो तर उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।

अगस्ट ४ मा ओस्लो अपार्टमेन्टमा उनीसँग सम्बन्ध राखेको एक महिलाको रातको विवादपछि शारीरिक क्षतिको आरोप लागेको केही महिनापछि बलात्कारको गिरफ्तारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यतिबेला महिलाको शयनकक्षको एउटा भित्तामा चक्कु गाडिएको पाएको नर्वेका सञ्चारमाध्यमका रिपोर्टहरूले बताएका छन् । निषेधाज्ञा आदेश उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बरमा पनि उनलाई पक्राउ गरिएको थियो ।

सोमबार पक्राउ गरिएको बेला उनी अगस्टको घटनाको कथित पीडितसँग कारमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मङ्गलबार अगस्टको घटनासँग सम्बन्धित शङ्कामा अब घरेलु दुर्व्यवहार समावेश भएको बताएको छ ।

उनलाई हिरासतमा राख्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।होइबीको जन्म सन् १९९७ मा मेट्टे–मेरिटको सन् २००१ मा नर्वेको सिंहासनका उत्तराधिकारी युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.