भारतीयलाई मात्र होइन, चिनीयाँ सेनाध्यक्षलाई पनि मानार्थ महारथीको दर्जा दिन माग
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका दुई छिमेकीसंग समान सम्बन्ध कायम राख्न भारतका सेनाध्यक्षलाई मात्र नभएर चिनीयाँ सेनाध्यक्षलाई पनि मानार्थ महारथीको दज्र्यानी दिनुपर्ने माग राखेको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज मंसिर ५ गते नेपालको ५ दिने भ्रमणमा आउने सन्दर्भमा मोर्चाले एक विज्ञप्तिमार्फत सो माग गरेको हो ।
मोर्चाले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिने परम्पराको अन्त्य गर्नुपर्ने वा चीनका सेनाध्यक्षलाई पनि समान रूपमा सोही सम्मान दिनुपर्ने विषय उठाएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारत नेपालको सिमाना जोडिएको देश भएकाले त्यस देशसँगको सैनिक सम्बन्धले विशेष अर्थ राख्छ नै । तर सिमाना जोडिएका दुईवटा देशमध्ये भारतसँग मात्रै विशेष सैनिक सम्बन्ध राख्ता मित्रभेद गरेको ठहरिन्छ भन्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने हो ।”
अध्यक्ष नेपालले भारतीय स्थल सेनाका प्रधान सेनापतिलाई मात्र नेपाली सेनाको महारथीको विभूषणले सुशोभित गर्नैपर्ने बाध्यता के हो भन्ने प्रश्न गर्दै सरकारले सैनिक सम्बन्धका प्रत्येक विषयमा भारत र चीन दुवै देशसँग समान व्यवहार नगर्नुको खुलाउन पनि माग गर्नुभएको छ ।
विज्ञप्तिमा नेपालले अपनाएको संलग्न परराष्ट्र नीति पुष्टि हुने गरी कि नेपाल र भारतका प्रधान सेनापतिले एकअर्का देशका सेनाको महारथी पद ग्रहण गर्ने परम्पराको अन्त्य हुनुपर्छ कि त जनवादी गणतन्त्र चीनको सेनाध्यक्षलाई पनि नेपाली सेनाको महारथीको दर्ज्यानीले सुशोभित गर्नुपर्छ भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्