दुई दिनमा एक लाख ६७ हजारबाट एक लाख ४८ हजारमा झर्यो सुन
नेपाली बजारमा दुई दिनमै सुनको मूल्य उच्चदरमा ओरालो लागेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको सुन मंगलबारसम्म घटेर एक लाख ४८ हजार सात सय भएको छ ।
सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएपछि सोमबार एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको थियो भने आज मंगलबार दुई हजार छ सयले घटेको छ ।
सोमबार एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको सुन मंगलबार आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत कात्तिक १५ गते सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको थियो । त्यसपछि भने क्रमशः घट्दै आएको थियो ।
सरकारले चालु आर्थिक वर्ष २०८१।०८२ बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको र भन्सार बढेका कारण बजारमा सुन महँगो हुँदै आएको थियो । गत जेठ १५ गतेदेखि सुनको भन्सारदर लागु हुँदा तोलामा एकै दिन मूल्य बढेको थियो ।
गत बिहीबारको मन्त्रीपरिषद् बैठकबाट सरकारले सुनको आयातमा भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । त्यही निर्णय कार्यान्वयन हुँदा सोमबार स्थानीय बजारमा सुनको मूल्य एक्कासी घटेको हो ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भन्सारदर घट्दा सुनको मूल्य तोलामा १३ हजार रुपियाँले सस्तो भएको जानकारी दिनुभयो । अवैधानिक सुनको कारोबार रोक्नका लागि भन्सारदर घटाइएको बताइएको छ ।
भारतमा सुनको भन्सारदर छ प्रतिशत हुँदा नेपालमा तस्करीमार्फत सुनको कारोबार बढी हुने गरेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायीले नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुँदा तस्करी बढ्दै गएको भन्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएर सुनमा लाग्दै आएको भन्सारदर घटाउन माग गर्दै आएका थिए ।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको सुनको मूल्य, भन्सारदर, बैङ्कको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर व्यवसायीले सुनको मूल्य तय गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्