जन सरोकार

सुरक्षाकर्मी पर्यटकमैत्री वातावरण बनाउने काममा पनि लाग्नुपर्छ : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताउनुभएको हो ।

अपराध नियन्त्रण प्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उहाँले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गर्नुभयो ।

महानिरीक्षक कुँवरले पर्यटकको सुरक्षामा ध्यान दिन कास्की प्रहरीलाई आग्रह गर्दै रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नुपर्ने बताउनुभयो ।

विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुुका साथै अपराध अनुसन्धान कार्यमा निश्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गर्नुभयो ।

देशभर अपराधका घटना वार्षिक रुपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उहाँको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको जानकारी उक्त अवसरमा दिइएको छ ।

पाच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो । उक्त कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.