संसद्को महत्व बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गर्नु जरुरी : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनु भएको छ ।
आइतबार सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा उहाँले सो आवश्यकता औंल्याउनुभएको हो ।
‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताउनुभयो ।
“सङ्घीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भन्नुभयो, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।”
सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दवसको सान्दर्भिकता अझ बढ्ने उहाँको भनाइ छ ।
सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
“छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ । अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ”, उहाँले भन्नुभयो, “संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ ।”
सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जानखोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ ।” सभामुख घिमिरेले सङ्घीय संसद्को कार्यक्षेत्रलाई प्रदेशस्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्लाई प्रभावकारी बनाउन सबैको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्को प्रभावकारिता संसद्ले गरेका निर्णयका आधारमा भरपर्छन् । निर्णयलाई व्यवहारिक कार्यान्वयनमा लैजान सकेमात्रै संसद्को प्रभावकारिता बढ्छ र यो कार्य सामूहिक प्रयत्नबाट सम्भव छ ।”
अध्यक्ष दाहालले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन। कानुन बनार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । संसद् र कर्मचारीबीचको प्रभावकारी समन्वय र विश्वास कायम गरेर सुशासन प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउन सांसद् र कर्मचारीबीच सहकार्य र समन्वय आवश्यकपर्ने भन्दै सबैको भूमिका उल्लेख्य हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद् सेवा विशिष्टिकृत सेवा भएकाले यसलाई प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सङ्घीय संसद्को प्रभावकारिताका लागि सांसद् र सचिवालयले समयसापेक्षा रूपमा प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।
“संसद्को प्रभावकारिताका अभिवृद्धिका लागि सचिवालयले प्रभावकारी सेवा दिनुपर्छ, जनशक्ति थपेर सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले ‘सङ्घीय संसद्को प्रभावकारिताका संसद् सेवाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सेवालाई प्रभावकारी बनाउन, पर्याप्त बजेट दक्ष जनशक्ति र प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।
उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै संसद्लाई मर्यादित र व्यवस्थित बनाउन सचिवालय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसविच जनकराज जोशीले संसद्लाई प्रभावकारी बनाउन संसदीय समितिलाई सक्रिय बनाउने, संसद् र सम्बन्धित समितिले गरेका निर्णय र निर्देशनलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्