अर्थकृषि

रोपाईका बेला युरिया, गहुँ छर्ने बेलामा डिएपी मलको अभाव

नेपालमा मुख्य खाद्यान्न बाली लगाउने बेलामा सधैं मलको अभाव हुने गरेको छ । असारमा धान रोपाई गर्ने बेलामा युरियाको अभाव हुन्छ भने मंसिर-पुसमा गहुँ छर्ने बेलामा डिएपी मलको अभाव ।

अहिले तराईदेखि पहाडसम्म गहुँ छर्ने याम सुरु भएको छ । तर, मुख्य खेती हुने क्षेत्रहरुमा मलको चरम अभाव छ । मलको अभाव हुँदा किसानहरु चिन्तामा छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मौज्दात डीएपी मल खपत भैसकेपछि किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन ।

दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेकाले धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि मल अभाव भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहका अनुसार पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताउनुभयो ।

हाल यी दुई जिल्लामा गहँुखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेकोे जनाइएको छ । थप डीएपी मल माग गरिएपनि प्राप्त नभएको प्रमुख साहले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उहाँको भनाई छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डिएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग युरिया मल मौज्दात छ, तर डिएपी छैन ।”

ती दुवै जिल्लाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ ।

धनुषामा ३३ हजार पाँचसय हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा भएको खेतीबाट एक लाख पाँच सय मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीप यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.