राजनीति

ऊर्जा क्षेत्रको विकासमा सरकार कटिबद्ध छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासका लागि सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।

मन्त्री दीपक खड्का

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले शुक्रबार साँझ यहाँ आयोजना गरेको मुलुकको विकासका लागि ऊर्जा क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा उहाँले ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव भएको बताउनुभएको हो ।

ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु्भयो । कूल २८ हजार पाँच सय मेवावाट विद्युत् उत्पादन गर्न ४६ अर्ब अमेरिकन डलर लाग्ने मन्त्री खड्काको भनाइ थियो ।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार गरिब तथा धनी सबै वर्गका लागि हुने भएकाले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गका लागि सरकारले दुई लाखदेखि पाँच लाखसम्मको बिना सहुलियत धितोको व्यवस्था गरेको उल्लेख गर्नुभयो । “हुने वर्गका लागि भन्दा पनि नहने वर्गलाई लक्षित गरी सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले आफूले राम्रो काम गरे पनि विभिन्न सञ्चार माध्यमले आफ्नो पछाडि लागेको भन्दै मुलुकको विकासका लागि नडराई काम गर्ने बताउनुभयो । उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले विद्युत् खरिद सम्झौता (पिपिए) चाँडो खुल्ने स्पष्ट पार्नुभयो । मन्त्री खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.