नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । जनकपुरलाई पराजित गरेसंगै चितवनको प्लेअफ सम्भावना बढ्दा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।
उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक-एक विकेट लिए । चितवनले दिएको ए सय ८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा समेटियो ।
जनकपुरका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसरी १८ बलमै अर्धशतक हानेका निशम एनपिएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । त्यस्तै आसिफ शेखले २३ रन बनुनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।
चितवनका लागि रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले समान दुइ-दुई विकेट लिए भने अमर सिंह राउटेलाको भागमा एक विकेट रह्यो । चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ ।
आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्