छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु
झापा, सिरहा, सुनसरी, भक्तपुर, मोरङ, रुपन्देही, कञ्चनपुर र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।
झापा, कमल गाउँपालिका-५ ज्योती चोकस्थित सडकमा प्रदेश १-०२-००१ ख ९७०६ नम्बरको बसले प्रदेश १-०१-०२ ह ९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारी चालक दमक नगरपालिका-९ बस्ने ५० वर्षीय राम गुरागाईंको मृत्यु भएको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
उक्त बसले प्रदेश १-०१- ००२ च ८४० नम्बरको कार र डब्लुबि ७४ एएक्स २८२९ नम्बरको कारलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस चालकको न्यूरो अस्पताल विराटनगर मोरङमा र सिटी सफारीमा सवार एक जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै सिरहा, सिरहा नगरपालिका-१० पदमपुरमा स.१ त ५५२५ नम्बरको ट्याक्टरले किचिएर सोही ठाउँ बस्ने अमित मण्डलको छोरा २ वर्षीय रियान्स मण्डलको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै सुनसरी, रामधुनी नगरपालिका-९ डुम्राहा टोलमा प्रदेश १-०२-००४ ह १४८१ नम्बरको सिटी सफारी अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता भक्तपुर, सुर्यबिनायक नगरपालिका-१० जोरपाटीस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४६ प ११२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई भक्तपुर नलिन्चोक बस्ने ७० वर्षीय निम बहादुर मगरको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मोरङ, ग्रामथान गाउँपालिका-२ झोराहाट चोकस्थित सडकमा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-१ बस्ने २२ वर्षीय आशिक मरिक र मोटरसाइकलमा सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-६ दुद्दराक्षस्थित सडकमा लु.३० प ३५९१ नम्बरको स्कुटरलाई लु.९१ प ११८४ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-५ महाबिर खल्लास्थित सडकमा से.१ त ३३७९ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय बिमल रानाको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै धनुषा, मिथिला नगरपालिका-५ बिश्रामपुरस्थित सडकमा ज.१३ प ५२१ नम्बरको मोटरसाइकल, बिआर ०१ जिएच ९३९० नम्बरको ट्रक र ज.११ प ६२६८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मिथिला नगरपालिका-५ बस्ने ४५ वर्षीय अरूण ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जना र स्कुटरमा सवार तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्