ज्यापू दिवस देशभरिका किसानको दिवस : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौँ उपत्यकाका नेवार समुदायको मात्र नभई देशभरिका किसानको दिवसका रूपमा रहेको बताउनुभएको छ ।
ज्यापू संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा उहाँले नयाँ बाली भित्र्याइसकेपछि त्यसको चामलबाट नै योमरी बनाउने गरिएकाले यो दिवस सबै किसानको दिवस रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले हाम्रो समाजमा परिश्रम गर्नेलाई तल्लो तहबाट हेर्ने गरेकामा त्यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । “श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने विकास निर्माण हुँदैन । आजको दिवसमा खेतमा परिश्रम गरेर सबैलाई खाद्यान्न पु¥याउने परिश्रमीलाई सम्मान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।
मन्त्री सिंहले ज्यापू दिवसलाई व्यवस्थित बनाउन एउटा स्थायी कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै पुर्खाले सिकाएको संस्कृति र चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले योमरी कृषि सभ्यताको प्रतीक रहेको बताउनुभयो । उहाँले भाषा, संस्कृति रहनसहन, खानपान, वेशभूषा र परम्परा रहेको नेवार समुदायजस्तो विश्वमा अन्य समुदाय नभएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल विभिन्न संस्कृतिको देश भएको बताउनुभयो । उहाँले नेपालमा मनाइने विभिन्न जात्राहरूले मुलुकको सांस्कृतिक महत्वलाई उजागर मात्र नगरेर देशको पहिचान बोकेको बताउनुभयो । उपप्रमुख डङ्गोलले मुलुकको आर्थिक क्रान्ति ल्याउन पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीद्वारा विभिन्न विधाका पुरस्कार प्रदान
कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू दिवसका अवसरमा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गर्नुभयो ।
संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठलाई ज्यापू प्रज्ञा, वरिष्ठ मूर्तिकार धर्मराज शाक्यलाई ज्यापू सम्मान प्रदान गरिएको छ । यस्तै, ज्यापू युवा प्रतिभा सम्मान वाद्यवादन विधामा रोसिका गधारीलाई, ज्यापू युवा सशक्तीकरण सम्मान सञ्जय महर्जन, ज्यापू प्रतिभा सम्मान सञ्चारमा सुनिल महर्जन, ज्यापू प्रतिभा (शिक्षा)जयन्ती महर्जनलाई प्रदान गरिएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद प्रदान गरिएको हो ।
यस्तै, ज्यापू युवा खेलकुद सम्मानबाट विक्रम महर्जन, योनोज महर्जन र अञ्जली महर्जनलाई प्रदान गरिएको छ ।
यस्तै, ज्यापू युवा सम्मान कलामा आनन्द महर्जन, ज्यापू बाल प्रतिभा पुरस्कार सुजिति डङ्गोल, टकमान सेवा समाज पुरस्कार शरणगोपाल डङ्गोल र वाद्यगुरु कृष्णभाइ महर्जन स्मृति पुरस्कार बुद्धिबहादुर डङ्गोललाई प्रदान गरिएको छ ।
ज्यापू समाजका अध्यक्ष मोहनकृष्ण सिंहले ज्यापू दिवसलाई सबै नेपालीको दिवस बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्