राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार बिहान भएको भएको लिग चरणको अन्तिम खेलसँगै प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ ।
लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेसँगै प्लेअफको समिकरण तय भएको हो । सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्दा समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो, समान खेलबाट ८ अंक जोडेको चितवन तेस्रो र समान खेलबाटै ८ अंक नै जोडेको कर्णाली चौथों स्थानमा रहँदै प्लेअफ पुगेका हुन् ।
अब सुदूरपश्चिमले जनकपुरसँग क्वालिफायर खेल्दा, कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् । त्यसअघि सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णालीलाई छ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनमा समेटिएको थियो ।
कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए भने विलियम बोसिस्टोले १६ रन जोडे । त्यस्तै बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११-११ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमका लागि हर्मित सिंहले तीन विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले र स्कट कुगलाइनले समान दुई-दुई विकेट लिँदा सैफ अलीको भागमा एक विकेट रह्यो । कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमका लागि इशान पाण्डे ३६ बलमा दुई चौका प्रहार गर्दै ३८ रनमा अविजित रहे भने कप्तान दीपेन्द्र सिंह ऐरीले २९ बलमा चार चौका र एक छक्काको मद्दतमा ३८ रन जोडे । यस्तै सेफ जैबले ११ रन जोड्दा आरिफ शेख चार राना नट आउट रहे ।
कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवको भाग्न समान एक-एक विकेट रह्यो ।
कर्णालीसँगै चितवन राइनोज र काठमाडौं गुर्खाजको समान आठ अंक रहे पनि नेटरनरेटका आधारमा चितवन र कर्णाली प्लेअफ पुगेका हुन् । कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमाडौँ प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा चलिरहँदा पनि लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफ पुगेको हो ।
प्रतिक्रिया राख्नुहोस्