मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई छ विकेटले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो ।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक-एक विकेट लिए । पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा कप्तान पुजा महतो ४७ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् । पाकिस्तानका लागि फतिमा खान र क्वार्टुलानले एक-एक विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्